इटहरी। हिमाली जिल्ला सोलुखुम्बुका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट २३ वटा सामुदायिक विद्यालयका ५०८ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको छ ।
आर्थिक अभावका कारण बालबालिकाको पढाइ प्रभावित हुन नदिन शेर्पा बालबालिका सहायता संघको पहलमा सञ्चालन गरिएको कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । संघका कार्यक्रम संयोजक सन्तबहादुर बुढाथोकी मगरका अनुसार लोरेन्स नेपाल फ्रान्स र राइलेन्ड लोरेन नेपाल जर्मनीको आर्थिक सहयोगमा सोलुदुधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको हो ।
पिके माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार छात्रावृत्ति कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थितीलाई बढाएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुलाई सहज भएको उहाँको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाको शिक्षामा अवरोध नआओस् र उनीहरू नियमित रूपमा विद्यालय जाने वातावरण बनोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको संयोजक बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक समस्याले विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन नदिन संस्थाले सहयोग कार्यक्रमलाई प्राथमिकता दिएको छ । संघले नयाँ आर्थिक वर्षका लागि थप ४० जना विद्यार्थीको छात्रवृत्ति आवेदनसमेत स्वीकृत गरेको जनाएको छ । सोलुखुम्बुसहित नेपालको जुनसुकै स्थानमा कलेज तहमा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम स्वीकृत भएको छ ।

