इटहरी । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याएका छन्।
बराह एग्रो कृषि फर्मको पहिलो आउटलेटका रूपमा सञ्चालनमा आएको फ्रेश हाउसमार्फत फर्ममै उत्पादन गरिएका बङ्गुर तथा अन्य कृषि तथा पशुजन्य उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याइने भएको छ। ताजा, स्वस्थ र गुणस्तरीय स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले फ्रेश हाउस स्थापना गरिएको गुरुङले बताएका छन्।
लामो समयदेखि कृषि, पशुपालन, माछापालन तथा एग्रो टुरिज्म क्षेत्रमा क्रियाशील गुरुङले स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै उत्पादनमुखी उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै आएका छन्। उनले सञ्चालन गरेका विभिन्न कृषि तथा पशुपालन परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै किसानहरूको आयआर्जन वृद्धि गर्न समेत सहयोग पुर्याएको छ।
बराह एग्रो कृषि फर्ममा उत्पादन भएका बङ्गुर तथा अन्य कृषि उत्पादनलाई बिचौलियाविना सिधै उपभोक्तासम्म पुर्याउने लक्ष्यसहित फ्रेश हाउस सञ्चालनमा ल्याइएको हो। यसबाट उपभोक्ताले ताजा तथा गुणस्तरीय उत्पादन प्राप्त गर्ने र उत्पादकले उचित मूल्य पाउने अपेक्षा गरिएको छ।
गुरुङले एग्रो टुरिज्ममार्फत कृषि, पशुपालन, स्थानीय उत्पादन र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रयाससमेत गरिरहेका छन्। यसले कृषि उत्पादनको बजारीकरण, आन्तरिक पर्यटन प्रवर्द्धन तथा ग्रामीण विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर सञ्चालनमा आएको ‘बराह एग्रो फ्रेश हाउस’ लाई सिजन गुरुङको व्यवसायिक यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

