इटहरी  । बिहीबार राति भएको भारी वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनदेखि मच्छेबुङ हुँदै गाउँपालिका केन्द्र थकेपुङ जाने सडक अवरुद्ध भएको छ।

फालेलुङ–७ सिदिनको थोक्पन क्षेत्र आसपास सडक माथिबाट ठुलो पहिरो खस्दा मध्यरातदेखि उक्त सडक अवरुद्ध भएको वडाध्यक्ष टेकबहादुर केरुङले जानकारी दिनुभयो। उहाँका अनुसार ढुङ्गा, लेदो र बाँससहितको पहिरोका कारण अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने बताइएको छ। हालसम्म सडक खुलाउने काम सुरु हुन सकेको छैन।

यसैगरी अविरल वर्षाकै कारण फिदिम–फालौट सडकखण्डअन्तर्गत मुवाखोला डाइभर्सनमा क्षति पुगेको छ। जसका कारण प्राङवुङदेखि सिदिन हुँदै फिदिम आउने सडकसमेत अवरुद्ध भएको छ। थोक्पनमा गएको पहिरो र मुवा खोला डाइभर्सनमा पुगेको क्षतिका कारण प्राङवुङबाट फिदिम आउने बाटो पूर्ण रूपमा ठप्प भएको स्थानीयवासीले बताएका छन्।

उता मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथर खण्ड पनि बाढीका कारण अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्गको पाँचथर खण्डअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेमा आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याउँदा आवागमन बन्द भएको वडाध्यक्ष देउकुमार योङहाङले बताउनुभयो।

सडक अवरुद्ध हुँदा जिल्लाको फलैंचा र च्याङथापुससँगै ताप्लेजुङको कालिखोला र सादेवा क्षेत्रबाट सदरमुकामसम्मको आउजाउ बन्द भएको छ।