इटहरी । नेपाली चियाको भारत निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका एक सयभन्दा बढी चिया उद्योग बिहीबारदेखि सञ्चालनमा आएका छन् । 

यही असार १ गतेदेखि बन्द भएका उद्योग सङ्घीय सरकार र स्थानीय तहसँगको सहमतिपछि सञ्चालनमा आएका हुन् । इलाम, झापा, पाँथचर, भोजपुर, कास्कीलगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए । सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने मागेको रायमा उद्योगीले दिएको सुझाव अनुसार सरकारका तर्फबाट त्यस अनुसार मौखिक आश्वासन आएपछि उद्योग सञ्चालन गरिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूले बताउनुभयो । 

झापाको नेपाल चिया उत्पादक सङ्घले पनि प्रेस विज्ञप्ति जारी गरी सरकारी आश्वासन अनुसार चिया उद्योग बन्दका सबै कार्यक्रम हालका लागि स्थगन गरिएको जनाएको छ । उद्योगीले चाँडोभन्दा चाँडो भारतसँग कूटनीतिक पहल गरिनुपर्ने, नेपालमा अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला नबनेसम्म भारत निकासी हुने चियालाई पुरानै ९सिएफएल० ढङ्गले निकासी गर्ने वातावरण बनाइनुपर्ने, अहिले गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्म उद्योगलाई बिनाब्याज ऋण दिएर उद्योग सञ्चालनको वातावरण बनाइनुपर्ने, तत्काल अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, अर्गानिक उत्पादन गर्न चियाक्षेत्रलाई आवश्यक स्थानीय, प्रदेश र केन्द्रको बजेटसहित कानुन र ऐन संशोधन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए । 

यो सुझाव आएपछि सरकारले कार्यदलमार्फत मौखिक आश्वासन दिएको र बिहीबार पनि प्रधानमन्त्रीको कार्यालयमा कार्यदलको बैठक बसेको थियो ।  यता सूर्योदय नगरपालिकाले पनि उद्योगसँग नगरक्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगका लागि तयारी चिया भण्डारणको व्यवस्था मिलाउने, अर्गानिक उत्पादनका लागि पहल गर्नेलगायतका प्रतिबद्धता गरेको छ ।  सूर्योदय नगरपालिकाभित्र रहेका उद्योगमा निर्यात नभई थन्किएको करिब १० लाख किलोग्राम अर्थोडक्स चिया निर्यात सहज नहुन्जेलका लागि भण्डारण गर्ने व्यवस्थित कक्षको तत्कालका लागि व्यवस्थापन गर्ने सहमति भएको छ । एक सिजनमा सूर्योदयमा उत्पादन भएको ३० लाख किलोग्रामसम्म चियाको भण्डारकक्षको व्यवस्था गर्न नगरपालिका तयार भएको छ । भण्डारण गरिएको चियाको सुरक्षाका लागि समेत नगरले व्यवस्था मिलाउने भएको छ । भण्डारकक्ष व्यवस्थापनका लागि सूर्योदय नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा उद्योगीसहितको समिति बनाइएको छ । उक्त समितिले एक साताभित्र भण्डारकक्ष व्यवस्थापन गर्ने भएको छ । चिया निर्यात नहुँदा उद्योगीका गोदाम भरिएपछि भण्डारकक्ष आवश्यक परेको चिया उद्योगी उत्तम प्रधानले जानकारी दिनुभयो । 

त्यस्तै बजार सहज भएर चिया निर्यात नभएसम्म किसानको भुक्तानी गर्न उद्योगले नसक्ने भएपछि बजार सहज नहुन्जेलसम्मका लागि किसानको भुक्तानी उद्योगीले नगर्ने सहमति भएको छ । यस्तै विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादन गर्नका लागि शुक्रबार सूर्योदय नगरपालिकाका १४ वटै वडामा नगरपालिका, चिया उद्योगी र किसानबिच गुणस्तरीय चिया उत्पादनसम्बन्धी छलफल गरिने कार्यवाहक नगरप्रमुख बरालले जानकारी दिनुभयो । चियाको गुणस्तर कायम नभएसम्म निर्यातमा समस्या आइरहने भएकाले यो कार्य गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उद्योगीले किसानलाई पनि गुणस्तरीय अर्गानिक चिया तयार गर्न आग्रह गरेका छन् । गएको मे १ देखि भारतले प्रयोगशाला परीक्षणको व्यवस्था अनिवार्य गरेपछि भारत पुगेको नेपाली चिया पनि उतै रोकिएको छ ।

चिया उद्योग बन्द भएपछि त्यसको प्रत्यक्ष असर चिया किसानलाई परेको छ । किसानले प्रतिकिलो ४० देखि ६० रुपियाँमा बिक्री गर्दै आएको चिया अहिले सिटिसी चियाका लागि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री गरेको बताएका छन् । यस बिचमा उद्योग बन्द हुँदा दैनिक दुई लाख किलो हरियो पत्तीबाट किसानलाई ठुलो घाटा भएको छ । उद्योगले प्रतिकिलो ४० देखि ६० रुपियाँ र त्यसमा सात रुपियाँ ढुवानी खर्चसमेत दिने गरेका थिए ।

अहिलेसम्मको हिसाब हेर्ने हो भने १० दिनमा २० लाख किलो हरियो पत्ती नष्ट भएको छ । यसलाई सरदर ५० रुपियाँका दरले लिने हो भने पनि किसानले १० करोड रुपियाँ गुमाउनु परेको छ । अहिले १५ रुपियाँ किलोका दरले बिक्री गर्न बाध्य भएका किसानले प्रतिकिलो १२ रुपियाँका दरले पत्ती टिपाउने गरेका छन् । त्यसो गर्दा प्रतिकिलोमा किसानलाई तीन रुपियाँ मात्र बचेको छ ।