इटहरी। झापाको भद्रपुरमा घर पुर्याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार असार १० गते साँझ भद्रपुर नगरपालिका–५ मा उक्त घटना भएको हो। १४ वर्षीया एक किशोरी र उनकी १७ वर्षीया साथी घर नजिकै रहेको विद्यालय परिसरमा घुमफिर गर्न गएका बेला उनीहरूलाई चिनजानका दुई युवाले घरसम्म पुर्याइदिने प्रस्ताव गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भद्रपुर–५ निवासी २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतोले किशोरीहरूलाई एकान्त स्थानतर्फ लगेका थिए। त्यसपछि उनीहरूमाथि छुट्टाछुट्टै स्थानमा जबर्जस्ती करणी गरिएको आरोप लागेको छ। जाहेरीमा उल्लेख भएअनुसार सहनीले १४ वर्षीया किशोरीलाई स्थानीय मोहम्मद मोसिमको मानिस बसोबास नभएको खुला भुइँघरमा लगी त्यहाँ रहेको त्रिपालमाथि लडाएर जबर्जस्ती करणी गरेका थिए। त्यस्तै, महतोले १७ वर्षीया किशोरीलाई सोही क्षेत्रको छेउमा रहेको केराघारीतर्फ लगेर जबर्जस्ती करणी गरेको आरोप छ।
घटनापछि पीडितहरूले परिवार र स्थानीयको सहयोगमा प्रहरीमा उजुरी दिएका थिए। उजुरी दर्ता हुनासाथ प्रहरीले दुवै आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिए। प्रहरीले पीडितहरूको उमेर कम भएकाले उनीहरूको पहिचान गोप्य राखिएको जनाएको छ। यौनजन्य हिंसाका घटनामा पीडित र परिवारलाई कानुनी तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ।
बालबालिका र किशोरीमाथि हुने यौन हिंसाका घटना समाजका लागि गम्भीर चुनौतीका रूपमा देखिँदै गएको सरोकारवालाहरू बताउँछन्। यस्ता घटनाको न्यूनीकरणका लागि परिवार, समुदाय, विद्यालय र सुरक्षा निकायबीच समन्वयात्मक भूमिका आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रहरीले दुवै आरोपितविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।


