इटहरी । सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा गरिएको चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१७ निवासी २५ वर्षीय निशान कार्की पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कार्कीको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा १ दशमलव २९ ग्राम ब्राउनसुगर लागूऔषध फेला पारेको जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।