इटहरी । पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा सञ्चालन गरिएको तीनदिने निःशुल्क डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको सहयोग तथा नेपाल पर्यटन बोर्डको आयोजनामा असार ११ देखि १३ गतेसम्म सञ्चालन भएको तालिममा सुनसरी सहित कोशी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीले जानकारी दिनुभयो । संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा होटल व्यवसाय महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष देवी गौतम (रबिन) प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका पर्यटन शाखा प्रमुख नवल भट्टराई सहित पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा आईटी प्रशिक्षक विनयराज दंगालले डिजिटल सीप, डिजिटल मार्केटिङ, कृत्रिम बुद्धिमत्ता (एआई), सामाजिक सञ्जाल व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष तेजबहादुर पुरीले व्यवसायीलाई समयअनुकूल प्रविधिसँग जोड्न यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन व्यवसायलाई थप सशक्त र प्रतिस्पर्धी बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । त्यस्तै, प्रमुख अतिथि देवी गौतम (रबिन)ले तालिमले होटल तथा पर्यटन व्यवसायीलाई डिजिटल प्रविधिको ज्ञान र सीप प्रदान गर्दै व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजकका अनुसार तालिम मार्फत व्यवसायीहरूलाई डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, एआईको उपयोग तथा सामाजिक सञ्जालमार्फत पर्यटन प्रवद्र्धनका व्यावहारिक सीप प्रदान गरिएको छ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका पर्यटन शाखा प्रमुख नवल भट्टराई पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थितिमा समापन गरिएको थियो ।


