इटहरी, असार १४ — ७५औँ मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इटहरीको आयोजनामा नेकपा एमाले इटहरी उपमहानगर कमिटीको कार्यालयमा विविध सांस्कृतिक कार्यक्रम तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।

मदन भण्डारी फाउन्डेसन इटहरीका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ, मदन भण्डारी फाउन्डेसन सुनसरीका अध्यक्ष प्रहलाद पहरेदार, फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू, नेकपा एमालेका प्रदेश, जिल्ला र नगर कमिटीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

IMG20260628090348

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गर्दै उहाँका विचार, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समृद्धिप्रतिको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले मदन भण्डारीका आदर्शलाई व्यवहारमा उतार्दै देशको समृद्धि र जनताको हितका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

IMG20260628095127

कार्यक्रममा जननेता मदन भण्डारीको राजनीतिक तथा सामाजिक योगदानका विषयमा विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूले उहाँको नेतृत्व, विचार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै नयाँ पुस्ताले उहाँका आदर्श र सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा दही–चिउरा खाने कार्यक्रम समेत सम्पन्न गरिएको फाउन्डेसन इटहरी उपाध्यक्ष जीवन राईले बताउनुभयो।

मदन भण्डारी फाउन्डेसन इटहरीका सचिव राजेन्द्र कट्टेलका अनुसार जननेता मदन भण्डारीको विचार, योगदान र राजनीतिक दर्शनलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।