इटहरी  । महभीर फोडिएसँगै खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको सडक सञ्चालनमा आएको छ।

महभीर नजिक दुवैतर्फ सडक ट्रयाक जोडिए पनि भीरका कारण सडक सञ्चालनमा आउन सकेको थिएन। करिब पाँच महिनाको निरन्तर प्रयासपछि महभीर फोडिएसँगै पहिलो पटक छोटो दूरीको सडक जोडिएको हो। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्लासम्म पुग्ने सबैभन्दा छोटो मार्ग मानिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभीरसम्म ट्रयाक केही वर्षअघि नै खोलिएको थियो।

महभीरमा ठुलो चट्टान भएकाले विकल्पका रूपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटार सडक प्रयोग हुँदै आएको थियो। कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२र०८३ को १ करोड ७ लाख ७७ हजार ८४७ रुपियाँ बजेटमा श्री कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स, उदयपुरले महभीर फोड्ने काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय दिक्तेलका लेखा प्रमुख सिताराम राउतले बताउनुभयो। महभीरको सडक जोडिएसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री भूपेन्द्र राईले असार १३ गते सडकको उद्घाटन गर्नुभएको छ। सोही दिन पहिलो पटक महभीरबाट सवारीसाधन आवतजावत गर्न सफल भएको हो।

दिक्तेल–खानीडाँडा–आहाले–महभीर हुँदै उक्त सडक सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारमा जोडिनेछ। दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकको तुलनामा यो मार्ग करिब दुई घण्टा छोटो हुने बताइन्छ। सदरमुकामबाट तराई आवतजावत गर्ने छोटो मार्ग भएकाले साप्सु खोला किनारको महभीर फोड्न बजेट विनियोजन गरिएको निवर्तमान मन्त्री राईले बताउनुभयो। उहाँका अनुसार महभीर फोडिएसँगै खोटाङ विकास र समृद्धिको यात्रामा एक कदम अघि बढेको छ। घर्तीभीरका नामले समेत परिचित महभीरमा यसअघि साँघुरो गोरेटो बाटो मात्र थियो। सडक सञ्जाल नजोडिँदा स्थानीय पैदलयात्रु यही बाटो प्रयोग गर्दै आएका थिए। साँघुरो बाटोका कारण ढाकर र टेकुवा बोकेर सामान ओसार्दा धेरै व्यक्ति तथा खच्चड साप्सु खोलामा खसेर दुर्घटना हुने गरेको स्थानीयले बताएका छन्।

उक्त सडकखण्डअन्तर्गत दिखुवा खोलामा मोटरेबल पुल निर्माणसमेत भइरहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा पर्ने दिखुवा खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सुस्त गतिमा अघि बढिरहेको छ। अत्यन्तै जोखिम मोलेर महभीर फोड्न सफल अपरेटर तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको छ। साप्सु खोला किनारको भीर चट्टान फोड्न सफल अपरेटरद्वय सिन्धुलीका प्रकाश लामा र हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको हो।