इटहरी । मोरङको सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले “समयसँगै परिवर्तित शिक्षा आजको आवश्यकता“ भन्ने मूल नाराका साथ आफ्नो १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यालयका अध्यक्ष एवं प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि श्रेष्ठले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक, नैतिक र प्रविधिमैत्री शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनुभयो।

यस्तै, प्रिन्सिपल पाठकले विद्यालयले विगत एक दशकदेखि आधुनिक शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र नैतिक शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि द राइजिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक र वडा सदस्य शारदा बिकले विद्यालयको शैक्षिक यात्राको प्रशंसा गर्नुभयो।

समारोहमा शैक्षिक वर्ष सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिनुका साथै नयाँ विद्यार्थीहरूलाई स्वागत र उत्कृष्टहरूलाई सम्मानित गरिएको थियो। विभिन्न नृत्य, गीत जस्ता सांस्कृतिक प्रस्तुतिसहित आयोजित सो कार्यक्रममा अभिभावक, शिक्षक र स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।