इटहरी । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएसँगै धनकुटामा पनि धान रोपेर धान दिवस मनाइएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाको आयोजनामा धनकुटा नगरपालिका–६ स्थित पात्लेखोलामा धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो। असार १५ अर्थात् दही–चिउरा खाने दिन भएकाले रोपाइँसँगै दही–चिउरा खाएर तथा हिलो खेलेर रमाइलो गरिएको थियो। जिल्लाका विभिन्न स्थान—पात्लेखोला, पात्ले, पाङसिङ तथा धान खेतीयोग्य जमिनमा सामूहिक रूपमा धान रोपाइँ गरिएको छ। पछिल्लो समय लोप हुँदै गएको हलो–जुवा, कोदाली प्रयोग गरी तथा गोरु नारेर खेतमा हिलोमै बाउसे गर्दै धान रोपाइँ गरिएको हो। पहिलापहिला बञ्चरेबाजा बजाई बेठी लगाउने प्रचलन रहे पनि अहिले आधुनिकतासँगै त्यो परम्परा हराउँदै गएको छ।

रोपाइँका लागि ब्याडमा बीउ उखेल्ने, बाउसे गर्ने तथा धान रोप्ने कार्यमा बिहानैदेखि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले धान रोपाइँसँगै हिलो खेलेर समेत रमाइलो गरेका थिए। कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नगेन्द्र रानाले धान तथा अन्य रैथाने बालीहरू हराउँदै गएकाले बीउ–बिजन संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले पानीको अभावका कारण कतिपय स्थानमा रोपाइँ प्रभावित भएको उल्लेख गर्दै कम पानीमा पनि उत्पादन दिन सक्ने धानका जात प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो। उहाँले कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा पनि जोड दिनुभयो।

धान दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा दही–चिउरा खाने कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख निरन तामाङ, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी रञ्जित ताम्रकार, कृषि ज्ञान केन्द्रका अधिकारी, समाजसेवी, स्थानीय कृषकलगायतको सहभागिता रहेको थियो।