इटहरी । महभिर फोरेपछि खोटाङको सदरमुकाम दिक्तेल पूर्वी तराईसँग जोड्ने छोटो दुरीको सडकमा जोडिएको छ । महभिरनजिक दुवैतर्फ सडकको ट्र्याक जोडिए पनि भिर फोर्न नसक्दा सडक जोडिन सकेको थिएन । करिब पाँच महिनाको लगातारको मेहनतले महभिर फोरिएपछि पहिलो पटक छोटो दुरीको सडक जोडिएको हो ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४, खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीको महभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्मको ट्र्याक केही वर्षअगाडि नै खोलिएको थियो । महभिरमा ठुलो चट्टान भएकाले विकल्पका रूपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोग हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय दिक्तेलका लेखा प्रमुख सीताराम राउतका अनुसार कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्षमा छुट्याएको एक करोड सात लाख ७७ हजार बजेटबाट श्री कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले महभिर फोडेको हो ।
महभिरको सडक जोडिएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री भूपेन्द्र राईले असार १३ गते सडकको उद्घाटन गर्नुभएको छ । असार १३ गते पहिलो पटक महभिरबाट सवारीसाधन वारपार गर्न सफल भएको छ । दिक्तेल–खानीडाँडा–आहाले–महभिर हुँदै उक्त सडक सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक अन्तर्गत रेग्मीटारमा जोडिने छ । दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक करिब दुई घण्टा छोटो दुरीको रहेको बताइन्छ । सदरमुकामबाट तराई आवतजावत गर्ने छोटो दुरीको सडक भएकाले साप्सुखोला किनारको महभिर फोर्नलाई रकम विनियोजन गरिएको निवर्तमान मन्त्री राईले बताउनुभयो । छोटो दुरीको सडकलाई अवरोध गरिरहेको महभिर फोरेर सडक जोड्न सफल भएपछि खोटाङ समृद्धिको यात्रामा एक कदम अगाडि बढेको निवर्तमान मन्त्री राईको भनाइ छ ।
घर्तीभिर पनि भनेर परिचित महभिरमा यस अघि साँघुरो गोरेटो बाटो थियो । खोटाङ जिल्ला सडक सञ्जालले नजोडिँदा उक्त बाटो हुँदै पैदलयात्री हिँड्ने गरेका थिए । भिरको बाटो साँघुरो भएकाले ढाकर टेकुवा बोकेर सामान बोक्दा कैयौँ व्यक्ति र खच्चड साप्सुखोलामा खसेर मरेको स्थानीय बताउँछन् । त्यही भिर फोरेर अहिले सडक निर्माण गरिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकमा पर्ने दिखुवाखोलामा पक्की पुल निर्माण भइरहेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४, खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवाखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माण व्यवसायीको चरम ढिलासुस्तीले सुस्त गतिमा निर्माण भइरहेको छ । जोखिम मोलेर महभिर फोड्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । साप्सुखोला किनारको भिर चट्टान फोर्न सफल अपरेटर सिन्धुलीका प्रकाश लामा र हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको हो ।

