इटहरी । कोशी प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको चियाक्षेत्र यतिबेला दोहोरो सङ्कटमा परेको छ । स्थानीय रूपमा चियाबालीमा ‘लुपार’ नामक किराको प्रकोपले बगान नै सखाप हुने अवस्था देखिएको छ भने अर्कातर्फ चिया निर्यातमा पटक पटक समस्या दोहोरिएको छ ।
बगान नै सखाप पार्ने गरी फैलिएको किरा नियन्त्रण गर्न सरकारले विशेष पहल गरिदिनुपर्ने माग चिया व्यवसायीले गरेका छन् । त्यसबाहेक चिया उत्पादक तथा व्यवसायीले भारतीय बजारमा निकासी र गुणस्तर परीक्षणको नाममा प्राविधिक झमेला सधैँका लागि अन्त्य गर्ने वातावरण बनाउन उनीहरूले माग गरेका छन् । चियाक्षेत्रमा देखिएका यस्ता समस्या समाधानका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगरमा आयोजित छलफलमा उद्योगीले सरकारको ध्यानाकर्षण गराएका हुन् । झापाका चिया कृषक सुमन्त मैनालीका अनुसार चिया बगानमा ‘लुपार’ किराको सङ्क्रमणले क्षति गरिरहेको छ । भारतबाट लुकीछिपी महँगो मूल्यमा औषधी ल्याउनुपर्ने बाध्यता रहेको उहाँको दुःखेसो थियो ।
नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले चियालाई कृषि अन्तर्गत नराखी उद्योगमा राख्दा किसानले पाउने मल, सिँचाइ र विद्युत् महसुलको सहुलियतबाट वञ्चित हुनु परेको गुनासो गर्नुभयो । उहाँले ९५ प्रतिशत चिया भारतमा निर्भर रहेकाले बजार विविधीकरणका लागि बङ्गलादेश र पाकिस्तानसँग कूटनीतिक पहल गर्न आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले नेपाली चिया दार्जिलिङको भन्दा गुणस्तरीय हुँदाहुँदै पनि भारतले ब्लेन्डिङ गरेर आफ्नै नाममा बेच्ने गरेको र नेपाली निर्यातमा पटक पटक अवरोध सिर्जना गर्ने गरेको दाबी गर्नुभयो । उहाँले २१ वटा वस्तुमा भएको ‘म्युचुअल रिकग्निसन एग्रिमेन्ट’ चियाको हकमा पनि पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले भारतसँगको व्यापार र भन्सारमा देखिएका प्राविधिक कठिनाइलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । गुणस्तर परीक्षणका लागि कोलकाता पठाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उहाँको भनाइ थियो । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले नगरपालिकाले सञ्चालनमा ल्याएको प्रयोगशालामा आधिकारिकता र विश्वासको कमीले उद्योगी आउन नसकेको स्वीकार गर्नुभयो । उहाँले ल्याबलाई पूर्ण क्षमतामा चलाउन प्रदेश सरकारको सहयोग माग्नुभयो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया क्षेत्रको समस्या समाधानका लागि कोशी सरकारले यसै वर्षदेखि ठोस योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सूर्योदय नगरपालिकामा चिया परीक्षण केन्द्रलाई व्यवस्थित बनाउने, चियाको आफ्नै मूल्य तोक्न ‘अक्सन सेन्टर’ स्थापना गर्ने र विदेशी क्रेतालाई बोलाएर नेपालमै ‘टी समिट’ आयोजना गर्ने योजना सुनाउनुभयो ।


