इटहरी । जिल्ला प्रशासन कार्यालय तेह्रथुमको आयोजनामा लालीगुराँस नगरपालिकाको सभाहलमा “सार्वजनिक सुनुवाइ तथा नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रम“ सम्पन्न भएको छ ।
कार्यक्रममा शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, अपराध न्यूनीकरण, लैङ्गिक हिंसा रोकथाम, सेवा प्रवाहको प्रभावकारिता, उपभोक्ता हित संरक्षण, विकास निर्माणका कार्य, विपद् व्यवस्थापन तथा सरकारी निकायबीचको समन्वय र सहजीकरण लगायतका समसामयिक विषयमा नागरिकसँग खुला छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए भने सम्बन्धित निकायका प्रमुखहरूले त्यसको जवाफ दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बन्धना राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख श्रीप्रसाद कार्की सहभागी हुनुभएको थियो। विशेष अतिथिमा लालीगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्की रहनुभएको थियो । त्यसैगरी, नेपाली सेनाको शत्रुमर्दन गुल्मका सेनानी कृष्ण तिवारी, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण ओली, सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बू, इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक रुपेश तामाङ लगायत सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वक्ताहरूले नागरिक र राज्यका निकायबीच विश्वास, सहकार्य र उत्तरदायित्वलाई थप सुदृढ बनाउन यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्तिपूर्ण, सुरक्षित र सुशासित समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।


