इटहरी । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा इटहरी–७ स्थित सुमंगल टोलमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
’परिवर्तन एक अभियान’ द्वारा आयोजित उक्त कार्यक्रममा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका स्थानीय कृषकहरू विष्णु प्रसाद कोइराला, बेचनलाल चौधरी र सत्यनारायण चौधरीलाई सम्मानपत्र सहित सम्मानित गरिएको छ । कार्यक्रममा करिब २५० जना स्थानीयवासी, महिला समूह तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
ब्राह्मण समाज इटहरीका अध्यक्ष पुण्यप्रसाद पराजुलीको प्रमुख आतिथ्यता तथा इटहरी उपमहानगरपालिकाका अधिकृत महेश सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। सो अवसरमा समाजसेवी जय नारायण चौधरीले संस्थालाई एक थान पोडियम प्रदान गरेबापत उहाँलाई पनि सम्मान गरिएको थियो । पवित्र खड्काको अध्यक्षतामा रहेको महिला समूहले नौमती बाजा बजाएर कार्यक्रमको उल्लासमय शुभारम्भ गरेको थियो।
वडा सदस्य दीपक घिमिरे र संस्थाका अध्यक्ष निश्चल घिमिरेले कृषकको सम्मानले कृषि पेशाप्रति आकर्षण बढ्ने र समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो। अध्यक्ष घिमिरेले आगामी दिनमा पनि कृषि प्रवद्र्धन र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


