इटहरी । उदयपुर प्रहरीले आइतबार साँझ लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र सप्तरीको सीमानाका लालपत्ता प्रहरी चौकीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। लहानबाट गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा लागूऔषध बोकेको फेला परेपछि मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ का २१ वर्षीय दीपकराज पोखरेल र पछाडि सवार २५ वर्षीय पुरन मगर पक्राउ परेका हुन्।

उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ओपिडोल ४ सय ९० क्याप्सुल र स्पास्पेन ४ सय ९० क्याप्सुल गरी जम्मा ९ सय ८० क्याप्सुल बरामद भएको छ। दुवै जनालाई लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताउनुभयो ।