इटहरी । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा इटहरी–१९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमै पुगेर उत्साहपूर्वक धान रोपेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पञ्चेबाजाको धुनसँगै परम्परागत शैली र आधुनिक कृषि प्रविधिको प्रयोग गरी धान रोपाइँ गरिएको थियो, जसले परम्परा र प्रविधिको सुन्दर समन्वय प्रस्तुत गरेको छ । विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले शिक्षा केवल किताबी ज्ञानमा सीमित हुन नहुने भन्दै विद्यार्थीलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिँदै आएको बताउनुभयो।

उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषिप्रतिको आकर्षण र सीप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख अतिथि रमेश कुमार शाहले आजको पुस्तालाई व्यवहारिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता अभ्यासले शिक्षा प्रणालीलाई थप समृद्ध बनाउनुका साथै सामाजिक, सांस्कृतिक र आर्थिक चेतनाको विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो। विद्यालयले विगत चार वर्षदेखि हरेक असार १५ मा राष्ट्रिय धान दिवसको अवसरमा यस्तै कार्यक्रम गर्दै आएको जनाएको छ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक सोचको विकास तथा बाल्यकालदेखि नै कृषिप्रति सम्मान र रुचि जगाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालयको भनाइ छ । कार्यक्रममा इटहरी–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठ, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, कृषि अनुसन्धान निर्देशनालय तरहराका प्राविधिक अधिकृत विनोद निरौला लगायत स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। परम्परागत संस्कृति, व्यवहारिक शिक्षा र आधुनिक कृषिलाई एकसाथ जोडेर विद्यालयले गरेको यो प्रयास अन्य शिक्षण संस्थाका लागि समेत प्रेरणादायी बनेको सहभागीहरूले बताए छन्  ।