इटहरी । मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङलिस स्कुलले सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा सामूहिक धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।
सुन्दरहरैंचा–१०, गैरीगाउँमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूले खेतमै पुगेर धान रोपेका थिए। विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा प्रदान गर्ने र नेपाली कृषि संस्कृतिसँग जोड्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ। विद्यालयकी अध्यक्ष सुजना खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष खनाल र प्रमुख अतिथि ढकालले आधुनिक पुस्तालाई माटो, श्रम र उत्पादनको महत्त्व बुझाउन यस्ता गतिविधि उदाहरणीय हुने बताउनुभयो । विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले सानैदेखि कृषि र सामाजिक उत्तरदायित्व बुझाउन रोपाइँ आयोजना गरिएको उल्लेख गनुृभयो ।
खेतमा धान रोप्दै र दही–चिउरा खाँदै विद्यार्थीहरूले निकै उत्साहका साथ दिवस मनाएका थिए । यस कार्यक्रमले नयाँ पुस्तामा कृषि संस्कृति र सामूहिक भावनाको विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ ।


