इटहरी । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानबाट ७९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका क्षेत्रको कोलबोटेमा जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा २५ वटा पोकामा ३१ किलोका दरले ७७५ किलोग्राम गाँजा बरामद गरेको हो।

प्रहरीले मिनी ट्रकको डालाभित्र आलुको बोराले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ। सोही घटनामा धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्दै आएका ३३ वर्षीय चालक परीक्षण कुँवर पक्राउ परेका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको धनकुटाका प्रहरी उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

यस्तै, प्रहरी चौकी डाँडाबजारबाट खटिएको टोलीले साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङ क्षेत्रमा बा ६४ प १४३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोराभित्रको जेब्रा झोलामा लुकाएर राखिएको २० किलोग्राम गाँजा बरामद गरेको छ। उक्त घटनामा साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राई पक्राउ परेका छन्। उनीमाथि पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।