इटहरी । साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैंचाका पूर्व प्रधानाध्यापक तथा शिक्षासेवी पीताम्बर दाहालद्वारा लिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ को विमोचन सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तित्व, कृतिकारका पूर्व विद्यार्थी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा लेखककी नातिनी सारांशिका दाहालले आफ्नो भनाइ राख्दै हजुरबुबाको जीवनसंघर्ष, इमान्दारिता र शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताउनुभयो।
त्यसैगरी, अर्की नातिनी स्मारिका दाहालले कृतिभित्रका प्रतिनिधिमूलक अंश वाचन गर्दै उपस्थित महानुभावहरूलाई पुस्तकको विषयवस्तुसँग परिचित गराउनुभएको थियो। कृतिकारका काइँला छोरा मुकुन्द दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि बरालले कृतिको विमोचन गर्दै पीताम्बर दाहालले शिक्षण पेशामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले यस्ता आत्मपरक कृतिले इतिहास, समाज र शिक्षा क्षेत्रका अनुभवलाई भावी पुस्तासम्म पु¥याउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने बताउनुभयो । आत्मकथामूलक कृति ‘अतीत देखि वर्तमानसम्म’ मा लेखकले आफ्नो बाल्यकाल, शिक्षण जीवन, सामाजिक योगदान, पारिवारिक उतारचढाव तथा जीवनका विविध अनुभवलाई समेट्नुभएको छ । विमोचन समारोहमा कृतिकारका पूर्व विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले पीताम्बर दाहालको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै कृतिले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए ।


