इटहरी । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर तेह्रथुम जिल्ला अदालतले जिल्ला अदालतको सभाहलमा ‘पत्रकारसँग अदालत’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अदालतले आर्थिक वर्षको वार्षिक लक्ष्य र प्रगति, मुद्दाको प्रकृतिअनुसार दर्ता तथा फछ्र्योटको अवस्था, थुनुवा मुद्दाको विवरण, सेवा प्रवाह र न्याय सम्पादनलाई प्रभावकारी बनाउन गरिएका व्यवस्थापकीय कार्यबारे जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश, श्रेष्तेदार, सूचना अधिकारी, अदालतका कर्मचारी तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष टि.आर. सेनेहाङ सहित जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सहभागी पत्रकारहरूले अदालतको सेवा प्रवाह, न्यायिक प्रक्रिया र सूचना सम्प्रेषणका विषयमा जिज्ञासा राखेका थिए । अदालतका पदाधिकारीहरूले पारदर्शी, छिटोछरितो र प्रभावकारी न्याय सेवा प्रवाहमा आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । अदालतले यस्ता कार्यक्रमले न्यायपालिका र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप मजबुत बनाउँदै न्यायिक सूचना नागरिक सम्म विश्वसनीय रूपमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।