इटहरी । कोशी प्रदेशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार विभिन्न जनचेतनामूलक तथा कृषिमुखी कार्यव्रmम आयोजना गरी उत्साहका साथ मनाइएको छ । 

प्रदेशका १४ वटै जिल्लाका किसान खेतमा धान रोप्न व्यस्त छन् भने सरकारी निकाय, स्थानीय तह, कृषि कार्यालय तथा विभिन्न सङ्घ संस्थाले रोपाइँ महोत्सव, कृषक सम्मान, कृषि प्रविधि प्रदर्शन, अन्तर्व्रिmयालगायत कार्यव्रmम सञ्चालन गरेका छन् । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी धान उत्पादनका दृष्टिले अग्रणी जिल्ला हुन् भने इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, सङ्खुवासभालगायतका पहाडी जिल्लामा पनि स्थानीय अनुकूल जातका धानको खेती हुँदै आएको छ । 

हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसानको श्रमको सम्मान गर्नुका साथै धान उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण र कृषिक्षेत्रको प्रवर्धन गर्ने उद्देश्य बोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो बाँझो जमिन र युवाको वैदेशिक पलायनले कृषिक्षेत्र सङ्कटतर्फ धकेलिएको भन्दै उत्पादनमुखी कृषि प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खेतीयोग्य जमिन बाँझो रहनु प्रदेशको कृषि उत्पादनका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्नुभयो । उहाँले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेती व्यापक विस्तार गरेर कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री कार्कीले युवाको विदेश पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको उल्लेख गर्दै त्यसले खाद्य सुरक्षासमेत प्रभावित हुन सक्ने बताउनुभयो । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएसँगै धनकुटामा पनि धान रोपेर धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाको आयोजनामा धनकुटा नगरपालिका–६ स्थित पात्लेखोलामा धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।

यस्तै असार १५ अर्र्थात् दही चिउरा खाने दिन पनि रहेकाले रोपाइँसँगै दही चिउरा खाई हिलो खेलेरसमेत रामाइलो गरिएको छ । जिल्लाका विभिन्न स्थान पात्लेखोला खेतलगायत पात्ले, पाङसिङ र धान खेतीयोग्य जमिनमा सामूहिक रूपमा धान रोपाइँ गरिएको छ । केही समययता लोप हुँदै गएको हलोजुवा, कोदाली साथै गोरु नारेर खेतमा हिलाम्मे भएर बाउसे गर्दै रोपाइँ गरिएको छ ।  कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नगेन्द्र रानाले धानलगायतका विभिन्न रैथाने बाली हराउँदै गएकाले बिउबिजन संरक्षण गर्नुपर्ने बताउनुभयो ।