इटहरी । सशस्त्र प्रहरी बल, नेपाल नं। १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
असार ९ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल नं। ४ गण मुख्यालय, सुनसरीमा सञ्चालन भएको तालिममा धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका लगायतका स्थानीय तहका १९ जना प्रशिक्षार्थी सहभागी भएका थिए। समापन समारोहका प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले यस्ता तालिमले स्थानीय तहमा दक्ष स्वयंसेवक उत्पादन गरी विपद्को समयमा प्रभावकारी प्रतिकार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले तालिमबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदायको सेवामा सक्रिय रूपमा परिचालन हुन प्रशिक्षार्थीहरूलाई आग्रह गरे। तालिम अवधिभर विपद् पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, डोरी तथा स्ट्रेचरको प्रयोग, बाढी तथा अन्य प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने सुरक्षा उपाय, समन्वय तथा जनचेतनासम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको समापनमा सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि केदार भण्डारी, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, सहभागी स्थानीय तह, प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षार्थीप्रति आभार व्यक्त गरे।
उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा सबैले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। समापन कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत, प्रशिक्षक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


