इटहरी । झापाको कमल गाउँपालिकामा पछिल्लो समय छाडा तथा आक्रामक कुकुरको संख्या बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्।
बजार क्षेत्र, बस्ती तथा सार्वजनिक स्थानमा छाडा कुकुरको समूह देखिन थालेपछि सर्वसाधारण, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा विद्यालय आउने–जाने विद्यार्थी असुरक्षित महसुस गर्न थालेका हुन्। स्थानीयका अनुसार छाडा कुकुरले बाटो हिँड्ने मानिसलाई लखेट्ने, टोक्ने प्रयास गर्ने तथा रातिको समयमा समूहमा भुकेर आतंक मच्चाउने गरेका छन्। बिहान–बेलुका आवतजावत गर्नसमेत समस्या हुन थालेको उनीहरूको गुनासो छ।
बजार क्षेत्र र सार्वजनिक स्थानमा छाडा कुकुरको संख्या बढ्दै जाँदा दुर्घटना तथा रेबिजजस्ता संक्रमणको जोखिमसमेत बढेको स्थानीयले बताएका छन्। उनीहरूले विद्यालय जाने बालबालिका र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै गाउँपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
स्थानीयवासीले छाडा कुकुरको व्यवस्थापन, नसबन्दी कार्यक्रम सञ्चालन, आवश्यक उपचार तथा जनचेतनामूलक अभियान अघि बढाउन कमल गाउँपालिकासँग आग्रह गरेका छन्।


