इटहरी । उच्च शिक्षा र राम्रो आर्थिक अवस्था भएका आमाहरुमा नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आयोजना गरेको छलफल कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा जन्मेदेखि ६ महिना सम्म पूर्ण स्तनपान गराउने दर पछिल्ला वर्षहरुमा उल्लेखनीय रुपमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेका अनुसार नेपालमा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर सन् २०१६ को ६६ दशमलव ४ प्रतिशतबाट सन् २०२१ मा घटेर ५६ दशमलव ४ प्रतिशतमा पुगेको छ ।
सरकारले सन् २०३० सम्म यो दर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। अध्ययनले उच्च शिक्षित आमाहरुमा दूध दानीबाट शिशुलाई दूध खुवाउने प्रवृत्ति बढी देखाएको छ । उच्च शिक्षित आमामध्ये ४९ प्रतिशतले दूध दानी प्रयोग गर्ने गरेका छन्। माध्यमिक शिक्षा हासिल गरेका आमामा यो दर ३१ प्रतिशत, आधारभूत शिक्षा हासिल गरेका आमामा १४ प्रतिशत र औपचारिक शिक्षा नपाएका आमामा १२ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा दूधदानी प्रयोग गर्ने दर ४३ प्रतिशत सहित सबैभन्दा बढी रहेको छ भने कर्णाली प्रदेशमा ११ प्रतिशत सहित सबैभन्दा कम रहेको छ । छलफलमा सहभागीहरूले कृत्रिम दूध तथा शिशु आहारको बढ्दो प्रचार प्रसारका कारण प्राकृतिक स्तनपानमा असर परेको भन्दै सम्बन्धित ऐनको प्रभावकारी कार्यान्वयन, कृत्रिम दूधको अनियन्त्रित प्रचार–प्रसारमा नियन्त्रण तथा स्तनपान प्रवद्र्धनका लागि थप प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


