इटहरी । समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यले समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि सात दिने तालिम तथा सचेतनामूलक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकली सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङ्ग धनकुटाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मको परिसरमा भएको थियो। सहभागीमध्ये १३ जना स्थानीय विपद् सूचक तथा स्थानीय बासिन्दा र ७ जना नगर प्रहरी रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाद सिग्देलले स्थानीय समुदाय र सुरक्षा निकायबीचको सहकार्यले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले तालिमपछि समुदायस्तरमै दक्ष स्वयंसेवक समूह तयार भई आपतकालीन अवस्थामा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । तालिम अवधिभर विपद्को परिचय, बाढी तथा पहिरो लगायत पानीजन्य विपद्मा खोज तथा उद्धार, भूकम्प र आगलागी नियन्त्रण, भत्केका संरचनामा उद्धार कार्य, प्राथमिक उपचार तथा गाँठो बाँध्ने विधि लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–६ गुल्म हेडक्वाटर छिन्ताङले विपद् व्यवस्थापनमा स्वयंसेवकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै समुदायमै दक्ष स्वयंसेवक तयार भए विपद् जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने जनाएको छ। साथै, विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको सक्रिय सहभागिता पनि अपरिहार्य रहेकोमा जोड दिइएको छ।


