इटहरी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट सिलिचोङ(१ तल्लो र माथिल्लो तेन्छोङमा हालसम्म २८ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए ।
पहिरोले तेन्छोङमा रहेको सामुदायिक स्वास्थ्य इकाइ समेत जोखिममा परेको छ । स्वास्थ्यभन्दा तल्लोभाग पहिरोसँगै बग्न थालेको छ । पहिरोले घर जोखिममा परेपछि मन कुमार राई, नौ बहादुर राई, मनबहादुर राई, धान राम राई, तिलक प्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोश राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको परिवार विस्थापित भएको हो ।
त्यसैगरी सिलिचोङ( १ तेन्छोङका कुन्ती राईको ५ जनाको परिवार, धनपूर्ण राईको ७ जनाको परिवार,मङ्गल बहादुर राईको ६ जनाको परिवार, सुक प्रसाद राईको ४ जनाको परिवार, मिरा राईको ५ जनाको परिवार, धनमान राईको ३ जनाको परिवार र अरुण सङ्गम राईको परिवार विस्थापित भएका छन् । पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । पहिरो प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा थप क्षतिको विवरण संकलन तथा अनुगमन भइरहेको छ । सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ती जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
बाढी तथा पहिरो प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए। बाढीले जलविद्युत् आयोजना बगाउँदा सिलिचोङ गाउँपालिका (१ र २ वडाका सिङ्गो गाउँका ६ सय बढी घरधुरी प्रभावित भएका छन्। सिलिचोङमा दुई वटा जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको हो । सिलिचोङ (१ सिसुवामा ६० किलोवाटको सिसुवाखोला लघु जलविद्युत र ३० किलोवाटको चटेक्मा लघु जलविद्युत आयोजना बगाउँदा करिव वडा नम्बर (१ सिसुवा र वडा नम्बर २ का करिव ६ सय बढी घर परिवार प्रभावित भएको हो । बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गृह बनाउन र पुनः विजुली बाल्न समय लाग्ने गाउँपालिका प्रमुख बताउँछन् ।त्यस्तै सिलिचोङ —१ सिसुवाखोलामा अविरल बर्षासँगै बाढी पहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।
