इटहरी। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले जेठ सुरुमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्र बिउ राखेका थिए ।

असार सुरु भएसँगै कोशीको मोरङ जिल्लामा औसतभन्दा बढी पानी परिरहेको छ । खेतमा पानी छ, बिउ तयार भएको छैन । मोरङको रतुवामाई नगरपालिका–५ का किसान लीलाबहादुर श्रेष्ठले भन्नुभयो, “असार सुरुदेखि खडेरी पर्छ भन्ने पूर्वानुमानका कारण हामीले बिउ ढिलो राख्यौँ तर अहिले निरन्तर पानी परिरहेको छ । असार २० अघि हाम्रो गाउँका धेरै जसो किसानको बिउ नै तयार हुँदैन, उहाँले पूर्वानुमान महाशाखाको भर पर्दा धोका भएको बताउनुभयो । रतुवामाईमा मात्र नभई पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र रङ्गेलीका अधिकांश किसानको बिउ तयार भएको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले  यस वर्ष औसतभन्दा कम वर्षा हुने र मनसुन भित्रिएपछि पनि कतै औसतभन्दा कम र कतै बढी पानी पर्ने सूचना प्रसारण गरिरहेको जानकारी दिनुभयो । उहाँले अझै पश्चिमी वायु र पूर्वीय वायु सव्रिmय रहेकाले कोशीमा तीन दिनसम्म पानी पर्न सक्ने जानकारी दिनुभयो । सामाजिक सञ्जालमा आएका सूचनाको भरमा निर्णय नलिन आग्रह गर्दै दाहालले महाशाखाको वेबसाइट वा ११५५ मा फोन गरेर सिधै बुझ्न सकिने बताउनुभयो । 

कोशी प्रदेशमा असार १२ गतेसम्म १५।३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा १४।३२ प्रतिशत रोपाइँ भएको थियो ।कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार पछिल्ला पाँच दिनमा रोपाइँको गति उल्लेखनीय रूपमा बढेको छ । निर्देशनालयले असार ८ गतेसम्म ८।२५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । डाँगीले असार १२ पछि पनि रोपाइँको गति अझ तीव्र भएको जानकारी दिनुभयो । निर्देशनालयले प्रदेशका १४ जिल्लास्थित कृषि ज्ञान केन्द्रसँग समन्वय गरी नियमित रूपमा रोपाइँको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी रोपाइँ भोजपुरमा भएको छ । जिल्लामा धान खेती हुने १२ हजार ५० हेक्टर क्षेत्रफलमध्ये आठ हजार ११४ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ६८ प्रतिशत हो । सबैभन्दा कम रोपाइँ झापामा भएको छ । झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा असार १२ गतेसम्म चार हजार ६२५ हेक्टर अर्थात् छ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । मोरङ र सुनसरीमा समान १५र१५ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ६९ हजार ८१७ हेक्टर तथा सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।