इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा विकास निर्माणका कामसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले जनप्रतिनिधि र कर्मचारीप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूका अनुसार जनप्रतिनिधि र कर्मचारीहरूले नागरिकका समस्यालाई सहज रूपमा सुनेर आवश्यक सेवा छिटोछरितो रूपमा उपलब्ध गराउँदै आएका छन्। कार्यालयमा अनावश्यक झन्झट कम भएको र आवश्यक जानकारी तथा सहजीकरण समयमै पाइने गरेको स्थानीयको भनाइ छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै विकास निर्माणका विभिन्न योजना कार्यान्वयन गरिरहेका छन्। वडाभित्र सडक कालोपत्रे, ग्राभेल तथा स्तरोन्नति, सडक बत्ती जडान, पुल तथा कल्भर्ट निर्माण, नाली व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण, मन्दिर निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माणमा सहयोग लगायतका योजनाहरू सञ्चालन भइरहेका छन्।

वडा अध्यक्ष उमेश सुवेदीले सीमित स्रोतसाधनका बाबजुद वडाका सबै टोलबस्तीमा विकासका काम पु¥याउने लक्ष्यका साथ योजना अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार नागरिकको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम सञ्चालन गरिएको छ भने सेवा प्रवाहलाई पनि थप प्रभावकारी र नागरिकमैत्री बनाउने प्रयास निरन्तर भइरहेको छ ।

2 1

त्यसैगरी वडा सदस्य दिपेन्द्र लिम्बुले व्यवस्थित, सुरक्षित र पूर्वाधारयुक्त वडा निर्माण गर्ने उद्देश्यका साथ विकासका कामलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार सडकसँगै खानेपानी, शिक्षा, सडक बत्ती, नाली, कल्भर्ट तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा वडाले विशेष प्राथमिकता दिएको छ।

नागरिकको सुझाव, आवश्यकता र अपेक्षालाई आधार बनाएर विकास निर्माणका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने तथा गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिइरहेको छ । स्थानीयवासीहरूका अनुसार विकास निर्माणका कामसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा आएको सुधारले जनप्रतिनिधिप्रति विश्वास बढेको छ । नागरिकको सहभागिता र सहकार्यलाई आधार बनाएर अघि बढाइएका योजनाले आगामी दिनमा वडाको समग्र विकासलाई अझ गति दिने अपेक्षा गरिएको छ।