इटहरी स् विनाशकारी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेका बेला विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडित परिवारहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
बाढीका कारण विस्थापित र प्रभावित परिवारहरू राहत तथा पुनःस्थापनाको कठिन अवस्थामा रहेका बेला निजी क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम जारी छ। यही क्रममा उद्योगी राठीले आफू आबद्ध राठी केबलमार्फत ११ लाख रुपैयाँ र पल्लवी लुब्रिकेन्टमार्फत २ लाख ५० हजार रुपैयाँ गरी कुल १३ लाख ५० हजार रुपैयाँ बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका हुन्। हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्याउने उद्देश्यले उक्त सहयोग गर्न लागिएको जनाइएको छ।
बाढीले प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाएको छ भने धेरै परिवार विस्थापित भएका छन्। प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेदेखि खाद्यान्न, लत्ताकपडा, अस्थायी आवास तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने चुनौतीसमेत बढेको छ। यस्तो कठिन घडीमा उद्योगी, व्यवसायी तथा निजी क्षेत्रबाट प्राप्त सहयोगले पीडित परिवारहरूको तत्काल राहत व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। सरकारी तथा गैरसरकारी निकायसँगै विभिन्न संघसंस्था र निजी क्षेत्र पनि बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोगमा जुटिरहेका छन्।

