इटहरी । विस्तार भइरहेको महेन्द्र राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको ठेक्का अवधि २०८३ साल माघ १८ गते सकिँदै छ, हालसम्म भौतिक प्रगति आधाभन्दा कम छ ।
यो सडकको पाँच खण्डमा ठेक्का लगाइएको छ । पूर्वतर्फ काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर, पूर्वतर्फका तीन सय मिटरभन्दा लामा तीन वटा पुलको ठेक्का अलग अलग लगाइएको छ । काँकडभिट्टा–लौकही सडक आयोजना एसियन डेभलपमेन्ट बैङ्क ९एडिबी० पूर्वी कार्यालय दमकका योजना प्रमुख सुनीलबाबु पन्तका अनुसार १० अर्ब छ करोडमा युरो एसियन कन्सट्रक्सन कर्पोरेसन अजरबैजान र कालिका कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गरिरहेका छन् ।
पूर्वी खण्डका तीन वटा लामा पुल कन्काई, विरिङ र निन्दाखोलामा पुल निर्माणको काम कोभेक सिआरइजिसी तुङ्दी जेभी कम्पनीले गरिरहेको छ पुल पाँच अर्ब ९० करोड रुपियाँमा ठेक्का लगाइएको हो । पश्चिमतर्फ सडक दुई खण्डमा र लामा पुल एक खण्ड गरी तीन खण्डमा ठेक्का लागेको छ । काँकडभिट्टा–लौकही सडक आयोजना ९एडिबी० पश्चिम खण्ड कार्यालय इटहरीका योजना प्रमुख जगत प्रजापतिका अनुसार सीतापुरी–गोठगाउँसम्मको ४० किलोमिटर सडक नौ अर्ब सात करोड ३५ लाख रुपियाँमा सिआरएफजी–तुङ्दी जेभीले ठेक्का लिएको हो । यही निर्माण कम्पनीले गोठगाउँदेखि लबीपुर सुनसरीसम्मको १०।७६ किमी सडक चार अर्ब सात करोड ३५ लाखमा ठेक्का लिई निर्माणको कम गरिरहेको छ । पश्चिम खण्डका तीन सय मिटरभन्दा लामा तीन वटा खोलाको पुल ९रतुवा, बव्रmाहा र लोहोन्द्रा० निर्माणको काम कोभेक सिआरइजिसी तुङ्दी जेभीले गरिरहेको छ । पश्चिमतर्फका पुल पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेका हुन् ।
२०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गते निर्माण कम्पनीले काम थालेका हुन् । सम्झौता अनुसार पाँच वटै प्याकेजको सम्झौता २०८३ सालको माघ १८ गते सकिँदै छ । म्याद सकिन सात महिना मात्र बाँकी रहँदा पूर्वी खण्डको सडकतर्फ ४६।२५ प्रतिशत काम सकिएको छ । पूर्व खण्डका पुलको प्रगति २९ प्रतिशत मात्रै भएको छ । विविध अप्ठ्यारोका बिच पनि समग्रमा काम छिटो भएको योजना पूर्व खण्डका योजना प्रमुख सुनीलबाबु पन्तको भनाइ छ । पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिका अनुसार सीतापुरी–गोठगाउँ सडकखण्डको काम हालसम्म ४२।४० प्रतिशत सम्पन्न भएको छ । गोठगाउँ–लबीपुर खण्डमा २४ प्रतिशत मात्र काम भएको छ । पश्चिम खण्डका लामा पुलको काम ४२ प्रतिशत सम्पन्न भएको छ । उहाँले सोचे अनुसार प्रगति नभएको बताउँदै निर्माण क्षेत्र खाली गराउन लामो अल्झन भएको, बेमौसमी वर्षा, जेनजी आन्दोलन, चाडपर्व, कामदार अभावलगायत कारणले समयमा काम सम्पन्न नभएको जानकारी दिनुभयो । निर्माण कम्पनीले चाहेको बेला माटो नपाउने, गिट्टी बालुवाको अभाव र पछिल्लो समय इरान–इजरायल युद्धको असरसमेत नेपालको निर्माण क्षेत्रमा परेको योजना प्रमुख प्रजापतिको भनाइ छ ।
पश्चिम खण्डमा सडक निर्माण गरिरहेको निर्माण कम्पनी सिआरएफजी तुङ्दी जेभीका कन्ट्याक्ट म्यानेजर डोरमणि पौडेलले मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन अभाव हुँदा १५ किलोमिटर सडक कालोपत्रे गर्न नपाएको बताउनुभयो । उहाँका अनुसार विगतमा माग अनुसार इन्धन आपूर्ति भएन । ढुङ्गा, गिट्टी, बालुवा र माटो अभाव भयो । रुख नहटाइदिँदा काम छ महिना ढिलो सुरु गर्नु प¥यो । उहाँले निर्माण कम्पनीका कारण काम ढिलो नभएको बताउनुभयो ।

