इटहरी स्  भन्सार छली गरेर ल्याइएको किराना तथा खाद्यान्न सामानसहित प्रहरीले धरानबाट एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ । अवैध सामानसहित सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको प्रहरीले चालक र दुई जना सहचालकलाई समेत पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–८ तीनकुनेमा बुधबार साँझ गरिएको चेकजाँचका क्रममा प्रहरीले ९ लाख ८२ हजार ५०० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्दा भन्सार छली गरी ल्याइएका किराना तथा खाद्यान्न सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह तथा मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालकद्वय भूपेन्द्र राजवंशी र कात्तिक राजवंशी छन् । बरामद सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।