इटहरी । झापाको कमल गाउँपालिकामा बिहीबार साँझ स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ करिब ७ बजे कमल गाउँपालिका–२ स्थित छलफल चोकको भित्री सडकमा केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे ११ प १६१८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा स्कुटीको पछाडि सवार धादिङको थाक्रे गाउँपालिका–११ स्थायी घर भई हाल कमल गाउँपालिका–६ बस्दै आएका ३० वर्षीय राजन तामाङको उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटी चालक इलामको माई नगरपालिका–१ स्थायी घर भई हाल दमक–५ बस्दै आएका २९ वर्षीय राजन महत गम्भीर घाइते हुनुभएको छ। उहाँको निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।