इटहरी । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा कुल विनियोजित बजेटको ८४।७६ प्रतिशत खर्च गरेको छ।
आर्थिक वर्ष समाप्तिसम्मको वित्तीय विवरणअनुसार नगरपालिकाले चालु तथा पुँजीगत दुवै शीर्षकमा उल्लेखनीय खर्च गर्दै समग्र बजेट कार्यान्वयनमा सन्तोषजनक प्रगति हासिल गरेको छ। नगरपालिकाकी लेखा अधिकृत विनया बस्नेतका अनुसार चालु र पुँजीगत गरी कुल १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार ३७३ रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब २९ करोड ९५ लाख ८२ हजार १९१ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८४।७६ प्रतिशत हो।
चालुतर्फ १ अर्ब ७ करोड ७० लाख ५४ हजार ५४० रुपैयाँ विनियोजन गरिएकोमा ८९ करोड ८८ लाख ६२ हजार २४८ रुपैयाँ खर्च भएको छ। यो चालु बजेटको ८३।२६ प्रतिशत हो। त्यसैगरी, विकास निर्माणसँग सम्बन्धित पुँजीगततर्फ ४५ करोड ६३ लाख ४ हजार ८३३ रुपैयाँ विनियोजन गरिएकोमा ३६ करोड ४४ लाख ७१ हजार ९४३ रुपैयाँ खर्च भएको छ, जुन पुँजीगत बजेटको ७९।८६ प्रतिशत हो। आर्थिक वर्षको अन्त्यसम्मको खर्च विवरणले त्रियुगा नगरपालिकाले चालु खर्चसँगै विकास निर्माणका योजनाको कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति हासिल गरेको देखाएको छ। यद्यपि, पुँजीगत खर्चलाई अझ प्रभावकारी बनाउन आगामी आर्थिक वर्षमा योजना कार्यान्वयनको गति थप तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।

