इटहरी । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित साइनो बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको लाखौं रुपैयाँ हिनामिना भएको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन्।
बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले असार १० गते लिम्बूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अध्यक्ष लिम्बूसहित सहकारीका आठ जना सञ्चालक तथा कर्मचारीमाथि पनि बचत रकम हिनामिना गरेको आरोप लागेको छ। फरार रहेका उनीहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीबाट करिब ६ करोड रुपैयाँ बराबरको रकम अनियमितता भएको अनुमान गरिएको छ। यद्यपि हिनामिनाको यकिन रकम अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाइएको छ।
पीडित बचतकर्ता खिलमान राईसहित नौ जनाले आफूहरूको १ करोड ८४ लाख रुपैयाँ बराबरको बचत फिर्ता नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। उजुरीपछि प्रहरीले सहकारीका पदाधिकारीमाथि अनुसन्धान अघि बढाएको हो। यसअघि शिवसताक्षी नगरपालिकाले सहकारीमा देखिएको वित्तीय अनियमितताबारे छानबिन गरी प्रतिवेदनसहित कारबाहीका लागि प्रहरीलाई सिफारिस गरेको थियो। सोही सिफारिस र पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले साइनो बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएका अन्य बचतकर्ता तथा शेयरधनीलाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ। अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईद्वारा जारी सार्वजनिक सूचनामा विगतदेखि हालसम्म उक्त सहकारीमा आबद्ध रहेका बचतकर्ता तथा शेयरधनीलाई सात दिनभित्र बचत पासबुक,नागरिकताको प्रतिलिपि, एफडी कार्ड तथा सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय झापामा उपस्थित हुन अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले अध्यक्ष लिम्बूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको तथा अन्य आरोपितहरूको खोजी तीव्र बनाइएको जानकारी दिए।

