इटहरी ।  मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरिएको कारबाट १९ किलोभन्दा बढी गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले कार रोक्न खोजेपछि चालक भने सवारीसाधन छाडेर फरार भएका छन्।

सशस्त्र प्रहरी बलका अनुसार जहदा गाउँपालिका–१ नयाँ बस्तीबाट बिहीबार राति करिब ८ः५० बजे बा १२ च ७५५२ नम्बरको कार नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ९बीओपी० मधुमल्लाबाट सई भोलाबहादुर कार्कीको नेतृत्वमा खटिएको मोटरसाइकल गस्ती टोलीले कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई शंका लागेपछि रोकेको थियो।

चालक प्रहरी टोलीलाई देख्नासाथ कार छाडेर फरार भएपछि गरिएको खानतलासीका क्रममा सिटमुनि लुकाएर राखिएको १९ किलो ३२० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी कागजमा प्याक गरिएको पहेँलो रङको ६० ग्राम धुलोसमेत बरामद भएको छ। उक्त पदार्थको प्रकृति भने प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गाँजा, शंकास्पद धुलो र कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

घटनापछि फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रवीण घिमिरेको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा लागूऔषध भारततर्फ तस्करी गर्ने उद्देश्यले लैजान खोजिएको आशंका गरिएको प्रहरीले जनाएको छ।