इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आसन्न निर्वाचनलाई लक्षित गर्दै नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी उद्योग वाणिज्य संघलाई कुनै पनि राजनीतिक, सामाजिक, लैङ्गिक वा आर्थिक विभाजनको आधारमा सञ्चालन हुन नदिने स्पष्ट अडान व्यक्त गर्दै सम्पूर्ण व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको हो। विज्ञप्तिमा उद्योग वाणिज्य संघ इटहरीले विगत देखि व्यवसायीहरूको सद्भाव, एकता र व्यावसायिक अधिकारको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ । इटहरी पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित भइसकेको अवस्थामा संघको नेतृत्व पनि सबै व्यवसायीलाई समेट्ने, निष्पक्ष र व्यवसायमैत्री हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
साझा समूहले उद्योग वाणिज्य संघको निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धाको रूपमा नभई व्यवसायीहरूको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेको छ। अध्यक्ष पदका उम्मेदवार काफ्लेले राजनीतिक वा सामाजिक फुटले संस्थालाई कमजोर बनाउने र यसले इटहरीको आर्थिक विकासमा समेत असर गर्ने बताउनुभएको छ । त्यसैले उहाँले सबै व्यवसायीहरूलाई मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो।
समूहका अनुसार निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भए पनि त्यसपछि सबै व्यवसायी बीच सहकार्य र सहअस्तित्व कायम गर्दै संस्थालाई थप सशक्त बनाइनेछ । नवराज काफ्ले नेतृत्वको साझा समूहले उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । समूहले ’दिन–रात व्यवसायीको साथ’ अभियान मार्फत तत्काल समस्या समाधान गर्ने, बजार बन्दको अन्त्य गर्ने र इटहरीमा व्यापार मेला आयोजना गर्ने जनाएको छ। ’डिजिटल उद्योग वाणिज्य संघ’ मार्फत घरबाटै सेवा दिने, कर समस्या सुल्झाउने, इटहरीलाई स्टार्टअप केन्द्र बनाउने र महिला उद्यमशीलतालाई प्राथमिकता दिने समूहको मुख्य योजना छ ।

