इटहरी। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –२ खनियाखर्कमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आगलागीमा १५ वटा पशुचौपाया मरेका छन् भने एउटा भैंसी घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार आइतबार राति करिब १० बजे स्थानीय बालकुमार सन्यासीको ढुङ्गा–माटोको गारो र जस्ताको छानो भएको एक तले मतान घरमा विद्युत् सर्ट भइ आगलागी भएको हो ।
आगलागीबाट मतान घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन् । त्यस्तै, मतानमा बाँधिएका एउटा खसी, चारवटा बोका, दुई वटा पाठी र आठवटा बाख्रा गरी १५ वटा पशु चौपायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगोले एउटा भैंसीसमेत जलेर घाइते भएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब पाँच लाख रुपियाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले घटनाको कारण विद्युत् सर्ट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


