इटहरी। मोरङको बेलबारी नगरपालिका–६, सोमबारेबाट करिब ३१ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका–७ निवासी ३५ वर्षीय आइतबहादुर राई र सोही स्थानका सन्देश परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान करिब ४ बजे सोमबारेस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४० प ९१९१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी जाँच गर्दा ३० किलो ९९० ग्राम गाँजा फेला पारेको हो। मोटरसाइकल राईले चलाएका थिए भने परियार पछाडि सवार थिए।

प्रहरीले उनीहरूको साथबाट गाँजासँगै ६३ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनालाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।