इटहरी। भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमाक्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौती बनेको छ ।
खुला सीमाक्षेत्र भएको मोरङमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनको सङ्ख्या बढिरहेकाले सुरक्षासँगै राजस्व असुलीमा समेत चुनौती बनेको बताइएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कङ्कालिनी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार मोरङमा मात्रै यसरी भन्सार सुविधामा भिœयाएर व्यक्तिगत प्रयोग भइरहेका सवारीसाधनको सङ्ख्या पाँच सयको हाराहारीमा छन् । अवैध कारोबारका लागि मात्रै नभई लागुऔषध ओसारपसारका लागि पनि चुनौती बनिरहेको बताइन्छ ।
भारतीय नम्बर प्लेट भएका सवारीसाधन नेपाल प्रवेश गरेर सञ्चालनमा आउँदा तीन तहका सरकारका लागि राजस्वको स्रोत बन्ने गरेको छ । जसमा पहिलो चरणमा भन्सार कार्यालयबाट सवारीसाधनको अस्थायी पठारी अनुमतिपत्र ९सुविधा० लिनुपर्ने हुन्छ । यसै गरी स्थानीय तहले विदेशी सवारीसाधनमा पूर्वाधार उपयोग सेवा शुल्कबापत दस्तुर लिन्छन् । त्यसबाहेक प्रदेश सरकारले समेत पूर्वाधार उपयोग सेवा शुल्क लिने गरेका छन् । राजस्वको सहज स्रोत भए पनि यसको प्रयोग प्रयोजन फरक ढङ्गबाट हुँदा दुरुपयोग बढेको सुरक्षा संयन्त्रको बुझाइ छ । भारतीय पर्यटक वा तीर्थयात्रीलाई सहज रूपमा आउन मात्रै यसको अनुमति दिनुपर्नेमा सीमाक्षेत्रका नागरिक भारतीय नम्बर प्लेट भएका सवारीको धनी भएपछि यसलाई बहुपक्षीय दृष्टिकोणबाटै कडाइ गर्नुपर्ने आवाज उठ्न थालेको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले भन्सार सुविधामा प्रवेश हुने गाडी व्यक्तिगत प्रयोजनका लागि नेपालमै राखेर प्रयोग गर्ने काम रोक्न जरुरी भइसकेको बताउनुभयो । उहाँका अनुसार अस्थायी पैठारी अनुमति लिएर प्रवेश गरेका गाडी घरमा पार्किङ गरेर राख्न छुट छैन । त्यसको प्रयोजन सकिएपछि सुविधा लिएको अवधिमा छुट पुर्जी लिएर फर्काउनु पर्छ तर अहिले त्यो नदेखिएपछि स्थानीय प्रशासनले यस्ता सवारी नियन्त्रणमा लिएर भन्सार दाखिला गर्न खोजिरहेको कोइरालाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार मङ्गलबार मात्रै विराटनगर–४, नहरचोकबाट भारतीय नम्बर प्लेटको स्कोर्पियो बरामद भएको छ ।
प्रहरीले बिआर ११ पिए ४२५४ नम्बरको सेतो महिन्द्रा स्कोर्पियो नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो । प्रहरी उपरीक्षक कटुवालका अनुसार भारतीय नम्बर प्लेटका गाडीको अस्थायी अनुमति लिएर नेपाल प्रवेश गरे पनि त्यस्ता गाडी यहीँ राख्न मिल्दैन । त्यसलाई भन्सार ऐनले दिएको अस्थायी पैठारी अनुमति दुरुपयोग मान्नुपर्ने हुन्छ ।
गत असोज ३१ गते विराटनगर–१४ का सुरेशकुमार यादवले प्रयोग गर्दै आउनुभएको बीआर ३८ एपी ८२८६ नम्बरको हुन्डाईको कार सशस्त्र प्रहरी बल सीमा सुरक्षा गण रानीले नियन्त्रणमा लिएको थियो । उक्त गाडीको चाबी भने धनीले नै लिएर फरार भएपछि १० दिनपछि मङ्गलबार मात्रै भन्सार दाखिला गरिएको सशस्त्रका प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । नियन्त्रणमा लिँदाताका कुनै कागजात नभएको सवारीको पछि भन्सार सुविधा लिइएको थियो । यसअघि विराटनगर–१४ का ओम साहको घरबाट समेत दुई वटा भारतीय नम्बर प्लेट भएका गाडी सशस्त्रले नियन्त्रणमा लिएको थियो । बिआर ११ डब्लु ३३०७ नम्बरको महिन्द्रा स्कोर्पियो र बिआर ०७ एई ६५८४ नम्बरको केटिएम ड्युक ३९० सिसीको मोटरसाइकलको कागजात अहिलेसम्म सम्बन्धित धनीले भन्सार बुझाएका छैनन् ।
औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि मालवस्तु बोकेर आउने सवारीको फर्कने निश्चित म्याद हुन्छ तर साना सवारी प्रयोगमा भइरहेको मनपरीमा अहिलेसम्म आँखा चिम्लने प्रवृत्ति देखिएको छ । यातायात कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै भारतीय र नेपाली गाडी समेतलाई रुट परमिट र पटके करबापत २१ लाख ६४ हजार ८५० राजस्व सङ्कलन भएको छ । यद्यपि यसमा भारतीय गाडीको सङ्ख्या यकिन हुने गरी तथ्याङ्क व्यवस्थापन भइनसकेको सापकोटाको भनाइ छ ।

