इटहरी। वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्रीबास नगरपालिका–७, राम्चेडाँडाका मोहन थापा अहिले आफ्नै गाउँमा अकबरे खुर्सानी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ ।
थोरै क्षेत्रफलबाट सुरु गरेको खेती विस्तार गर्दै नौ रोपनीमा पुर्याउनुभएका उहाँले वार्षिक आठदेखि नौ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गर्ने सोचसहित दुई वर्षअघि घर फर्किनुभएका थापाले गत वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गर्नुभएको हो ।
सुरुमा तीनदेखि चार रोपनी क्षेत्रफलमा खेती गर्नुभएका उहाँले आम्दानी राम्रो हुन थालेपछि यस वर्ष खेती विस्तार गरेर करिब नौ रोपनीमा पुर्याउनुभएको छ । कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने भएकाले अकबरे खुर्सानी खेतीप्रति आकर्षित भएको उहाँ बताउनुहुन्छ । नगदेबालीका रूपमा रहेको खुर्सानी खेतीले घरपरिवारसँगै बसेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिने उहाँको अनुभव छ ।
थापाले लगाएको अकबरे खुर्सानी भदौको अन्तिम सातादेखि टिप्न सुरु गरिन्छ । पुस महिनासम्म उत्पादन लिने गरिएको उहाँ बताउनुहुन्छ । महिनामा करिब आठदेखि नौ पटकसम्म खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ । न्यूनतम प्रतिकेजी २५० रुपियाँमा बिक्री हुने खुर्सानी खरिद गर्न ग्राहक घरमै आउने गरेका छन् ।उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर, झापा, इलामलगायतका ठाउँ हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ । बजारको व्यवस्था सन्तोषजनक भए पनि किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न नपाउँदा समस्या हुने गरेको थापाको गुनासो छ ।
अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि थापाले स्थानीय तीनदेखि चार जनालाई रोजगारीसमेत दिनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै गाउँमा व्यवसाय सुरु गर्नुभएका उहाँले खेती विस्तारसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने अवसरसमेत पाउनुभएको छ । गाउँमै बसेर कृषि पेसाबाट राम्रो आम्दानी गर्न सकिने भएकाले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई पनि आफ्नै ठाउँमा सम्भावना खोज्न उहाँ सुझाव दिनुहुन्छ । थोरै क्षेत्रफलबाट सुरु गरेर मेहनत र लगनशीलताका साथ खेती विस्तार गर्न सके आर्थिक रूपमा सबल बन्न सकिने उहाँको विश्वास छ ।
विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै माटोमा सम्भावना खोज्नुपर्ने सन्देश दिँदै थापाले अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने सोच बनाउनुभएको छ । उहाँको अनुभवले गाउँमै कृषि उद्यममार्फत आम्दानी र रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखाएको छ ।


