इटहरी। साना सिचाइँ कार्यक्रम ९एसआइपी० अन्तर्गत ओखलढुङ्गामा पछिल्लो छ वर्षको अवधिमा २४३ वटा सिचाइँ कुलो निर्माण भएपछि जिल्लाका दुई हजार ३२३ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिचाइँ सुविधा पुगेको छ ।
कार्यक्रमबाट नौ हजार ४१७ घरधुरी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच २०७७ असार १२ गते भएको द्विपक्षीय सम्झौता अनुसार कोशी प्रदेशका आठ जिल्लाका ५९ स्थानीय तहमा कृषि उत्पादन वृद्धि तथा विपन्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालित साना सिंचाई कार्यक्रमको दोस्रो चरण २०८३ असार ३२ गते सम्पन्न भएको हो । परियोजनाका जिल्ला संयोजक कृष्ण तामाङका अनुसार आर्थिक वर्ष २०७७र७८ देखि २०८२र८३ सम्म ओखलढुङ्गाका आठवटै स्थानीय तहमा सिचाइँ पूर्वाधार विस्तार गरिएको छ । कार्यक्रममा उपभोक्ताको १० प्रतिशत जनश्रमदानसहित करिब ७६ करोड ६७ लाख ५५ हजार रुपियाँ खर्च भएको छ ।
परियोजना मार्फत करिब दुई लाख १५ हजार श्रमदिन सिर्जना भएको र स्थानीय समुदायले ज्यालाबापत २० करोड १६ लाख रुपियाँ आम्दानी गरेका छन् । सिचाइँ सुविधा विस्तारसँगै जिल्लाका कृषकको खेती प्रणालीमा उल्लेखनीय परिवर्तन देखिएको छ । सिद्धिचरण नगरपालिका–१० बेतिनीका कृषकले पहिले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता हटेर अहिले वर्षमा तीन बाली उत्पादन गर्न थालेका छन् । धान, गहुँ–फापर र मकैसँगै तरकारी तथा फलफूल खेती विस्तार हुँदा आम्दानीसमेत बढेको स्थानीय कृषक भीमप्रसाद धमलाले बताउनुभयो । सिद्धिचरण नगरपालिका–७ बिगुटार सुर्केमा पनि सिंचाई सुविधा पुगेपछि खेतीयोग्य जमिनको उपयोग बढेको छ । पहिले कोदोबाहेक अन्य बाली उत्पादन गर्न कठिन हुने क्षेत्रमा अहिले धान, तरकारीलगायतका व्यावसायिक खेती विस्तार भएको छ । सुर्के साना सिंचाई जल उपभोक्ता समितिकी अध्यक्ष रहरमाया राईका अनुसार परियोजनाले स्थानीय कृषकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ ।
सिचाइँ सुविधा पुगेपछि कृषि उत्पादन बढ्नुका साथै कृषकको आयआर्जनमा समेत उल्लेखनीय वृद्धि भएको उहाँको भनाइ छ । परियोजना कार्यान्वयनका लागि स्वीस सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा उपभोक्ताको साझेदारीमा कुल ७६ करोड ४८ लाख ९० हजार ४७८ रुपियाँ लगानी गरिएको थियो । जिल्ला संयोजक तामाङले निर्माण भएका सिचाइँ संरचनाको दीर्घकालीन संरक्षणका लागि जल उपभोक्ता संस्थामार्फत मर्मत–सम्भार कोष स्थापना गरिए पनि नियमित कोष सङ्कलन, संस्थागत सुदृढीकरण तथा संरचनाको दिगो व्यवस्थापन अझै चुनौतीका रूपमा रहेको बताउनुभयो ।
स्थानीय तहले कृषि उत्पादन, बजारीकरण र सिचाइँ संरचनाको संरक्षणलाई प्राथमिकतामा राखे ग्रामीण अर्थतन्त्र थप सुदृढ हुने उहाँको भनाइ छ । सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले परियोजनाले कृषकको उत्पादन र आम्दानी बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । निर्माण भएका सिंचाई संरचनाको संरक्षण, आवश्यक मर्मत–सम्भार तथा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन नगरपालिका प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत सिद्धिचरण नगरपालिकामा ४०, सुनकोशी गाउँपालिकामा ४७, मानेभञ्ज्याङ गाउँपालिकामा २६, मोलुङ गाउँपालिकामा २४, चम्पादेवी गाउँपालिकामा ३७, लिखु गाउँपालिकामा ३१, खिजीदेम्बा गाउँपालिकामा १३ र चिशंखुगढी गाउँपालिकामा २५ वटा गरी जिल्लाभर २४३ वटा सिचाइँ कुलो निर्माण भएका छन् ।

