इटहरी । सुन्दरदुलारी उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) का अध्यक्ष राजेन्द्रकुमार राउतसहित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । विहीबार सुन्दरहरैंचा–४, दुलारीस्थित सेभेन इन होटलमा आयोजित कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राउत सहित पदाधिकारीहरूलाई खादा, फूलमाला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो।सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाको अध्यक्षता तथा महासंघका प्रदेश अध्यक्ष राजेन्द्रकुमार राउतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वर्तमान समयमा उद्योग, व्यापार तथा निजी क्षेत्रले भोगिरहेका विविध समस्या, समग्र आर्थिक मन्दीको असर र तिनको सम्भावित समाधानका उपायहरूका विषयमा गहन छलफल गरिएको थियो। सोही क्रममा महासंघका अध्यक्ष राउत सहितको टोलीले सुन्दरहरैंचा गछियामा निर्माणाधीन सुन्दरदुलारी उद्योग वाणिज्य संघको आफ्नै भवनको भौतिक प्रगतिबारे अनुगमन तथा निरीक्षण समेत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजेन्द्रकुमार राउतले स्थानीय उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण र निजी क्षेत्रको सशक्तीकरणका लागि महासंघ निरन्तर लागि पर्ने बताउनुभयो। साथै, उहाँले निर्माणाधीन संघको भवनलाई छिट्टै पूर्णता दिनका लागि महासंघका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष तथा पदाधिकारीहरूले अतिथिहरूलाई स्वागत गर्दै व्यवसायीका साझा समस्या समाधानका लागि महासंघसँगको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष रमेश थापाले स्थानीय संघ र माथिल्लो तहका महासंघका पदाधिकारीबीच आपसी परिचय, समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


