इटहरी : आज परम्पराअनुसार नागको पूजाआजा गरी नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर यो पर्व मनाउने गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नागको वास हुने धार्मिक विश्वास छ। घरको जगमुनि बसेका नाग रिसाएर गएमा घरको जग नै भत्कने मान्यताका आधारमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आएको छ। नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै रहेको छ। भगवान् शिवले नागको माला लगाउने तथा भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढेर शयन गर्ने भएकाले दुवै भगवान्सँग नागको सम्बन्ध जोडिएको मानिन्छ। प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्रीगणेशको एक हातमा नाग रहेको मान्यता छ। भगवान् विष्णुको अवतारका रूपमा जन्मिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र भगवान् कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख छ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा मानिने बुद्धको मूर्तिको शिरमा मुकुटाकार सर्पको आकृति रहेको पाइन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको मान्यता छ। जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुने गर्छ। पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ। नागको पूजा गरिने घरमा लक्ष्मीको बास हुने धार्मिक मान्यता पनि समाजमा प्रचलित छ। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्। तीमध्ये एउटा प्रख्यात किंवदन्तीअनुसार एक किसानले खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाएर मारेका थिए।

आहारा खोजेर फर्किएकी नागिनीले आफ्ना सबै बच्चा मरेको देखेपछि किसानसँग क्रुद्ध भइन्। रिसले चुर भएकी नागिनीले किसानलाई मारेपछि उनको घरमा गएर श्रीमती र दुई छोरालाई समेत मारिदिइन्। संयोगले किसानकी छोरी भने घरबाहिर रहेकाले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटोमा फेला पारिन्। नागिनीले उनलाई मार्न खोज्दा किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गर्दै आफूले नागको पूजाआजा गर्ने र दूध चढाउने वाचा गरिन्। त्यसपछि नागिनीले दया गरेर किसानकी छोरीलाई छाडिदिइन्। मृत्युको मुखबाट बचेपछि प्रसन्न भएकी किसानकी छोरीले नागिनीको षोडशोपचार विधिबाट पूजा गरी कचौरामा दूध चढाइन्। उनको भक्तिबाट प्रसन्न भएकी नागिनीले वर माग्न भनेपछि किसानकी छोरीले आफ्ना मातापिता र भाइहरूलाई समेत जीवनदान दिन आग्रह गरिन्। नागिनीले तथास्तु भनेपछि किसानका परिवारका सदस्यहरू पुनः जीवित भएको किंवदन्ती छ। नागिनीले किसान परिवारलाई जीवनदान दिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन भएकाले त्यसै समयदेखि नागपूजा गरी घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ। त्यसैगरी, गुरु गोरखनाथले नौ नागको आसनमा बसेर १२ वर्षसम्म तपस्या गरेको र नागलाई थिचेर राख्दा पानी नपरेको किंवदन्ती पनि प्रचलित छ। गुरु मत्स्येन्द्रनाथ नेपाल आएको देखेपछि गोरखनाथ उठ्दा नाग मुक्त भएर पानी परेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ। संसारमा सबैभन्दा मूल्यवान् मानिने मणि नागले शिरमा धारण गर्ने धार्मिक विश्वास छ। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई मन पर्ने जनविश्वास पनि छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमीका दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत रहेको छ।

नागका १२ नाम भए पनि आठ कुलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहेको छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजका दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको मूलढोकामाथि टाँसिन्छ। नागपञ्चमीका दिन घरमा नागको तस्वीर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवजन्तुलाई मार्न नहुने धार्मिक मान्यता छ। आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा गरिँदैछ। नागलाई सम्मान गर्दै दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादका रूपमा चढाउने गरिन्छ। वैज्ञानिक रूपमा प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानव तथा अन्य जीवमा विषालु पदार्थको प्रभाव कम गर्न भूमिका खेल्ने विषयमा भएका अध्ययनका आधारमा ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने परम्परा बसालेको विश्वाससमेत पाइन्छ। नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडपर्वको याम सुरु हुने मान्यता छ।