इटहरी : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ।

कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा प्र.१–०१–००१ त ८९९२ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएको थियो। ट्याक्टरमा सवार भारत बिहार राज्य किशनगन्ज जिल्ला जोरबारी जियापोखेर–७ का ८ वर्षीय सिमोन सोरेन घाइते भएका थिए। घाइते सोरेनलाई आफन्तले उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खेत भद्रपुर नगरपालिका निवासी मोहन अग्रवालको रहेको र भारतका बाबुलाल मण्डीले जोत्दै आएको प्रहरीले जनाएको छ। ट्याक्टरका साहु भारत बिहार राज्य किशनगन्ज जिल्ला गिलाबारीका अजय भट्टिया रहेको खुलेको छ। ट्याक्टर चालक भने भारतीय नागरिक रहेको र उनको नामथर तथा ठेगाना खुल्न सकेको छैन। दुर्घटनापछि चालक फरार छन्। प्रहरीले चालकको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको जनाएको छ। ट्याक्टरलाई प्रहरी चौकी घेराबारीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।