इटहरी । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा सहयोग संकलन धमाधम भइरहेको छ ।
धनकुटामा हाल सम्म स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय तथा स्थानीयवासीबाट १ करोड १६ लाख ४८ हजार ६ सय २७ रुपैयाँ संकलन भएको छ । धनकुटाका ७ स्थानीय तहमध्ये हालसम्म पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठक मार्फत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन् । अन्य ४ वटा स्थानीय तहले पनि चाँडै बैठक बसेर सहयोग गर्ने जनाएका छन् ।
महालक्ष्मी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ४१ लाख ४८ हजार २ सय २९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महालक्ष्मी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिका तर्फबाट २ लाख २२ हजार ३ सय ३० रुपैयाँ, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट ६ लाख ९१ हजार ५ सय २५ रुपैयाँ र नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट २७ लाख ३४ हजार ३ सय ६४ रुपैयाँ उपलब्ध गराइने भएको नगरपालिकाका प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो ।
त्यस्तै, पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६ सय १४ रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ, नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधाबाट १ लाख ५३ हजार रुपैयाँ, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट ६ लाख ४८ हजार ९ सय ४२ रुपैयाँ र नगरपालिका क्षेत्रबाहिरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट १७ लाख २१ हजार ६ सय ७२ रुपैयाँ सहयोग गर्न लागिएको नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाले पनि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विपद् व्यवस्थापन कोषबाट गरी कुल ३० लाख रुपैयाँ सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । त्यस्तै, निर्माण व्यवसायी संघ धनकुटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ भने प्याब्सनमा आबद्ध धनकुटाका ११ वटा संस्थागत विद्यालयले विद्यार्थीबाट संकलन गरेको ८ लाख ७६ हजार २१ रुपैयाँ समेत बाढीपीडितका लागि सहयोग गरेका छन् ।
यता, नेपाली कांग्रेस धनकुटाले हालसम्म ४ लाख १८ हजार ४ सय ३२ रुपैयाँ सहयोग संकलन गरेको जनाएको छ । यसैगरि धनकुटामा लाखे नाच प्रदर्शन गरेर समेत सहयोग संकलन गरिएको छ । बजारका विभिन्न स्थानमा लाखे नाच देखाउँदै गरिएको सहयोग संकलनबाट ७१ हजार २ सय २० रुपैयाँ जम्मा भएको संकलनकर्ता राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यो बाहेक धनकुटाका धेरै स्थानीयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफैले सहयोग पठाएका छन् । धनकुटाका कतिपय स्थानीयले कोषमा मोबाइल बैकिङ मार्फत सहयोग रकम पठाएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका पाइएको छ । यसरी गएको रकम भने के कति गयो भन्ने आधिकारिक तथ्यांक पाउन भने मुस्किल रहेको छ ।


