इटहरी । बराहक्षेत्र नगरपालिका–१०, गडेरिटोलस्थित राम नक्षदीपाल आधारभूत विद्यालयमा वक्तृत्वकला, सांस्कृतिक तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनमाया कट्वालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी खनाल तथा महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख विक्रम भट्टराईको विशेष उपस्थिति रहेको थियो। सपना पालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र विभिन्न सांस्कृतिक नृत्य मार्फत बालबालिकाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो । साथै, कार्यक्रम सञ्चालक सपना पाल र उत्कृष्ट स्वागत मन्तव्य प्रस्तुत गर्ने विद्यार्थीलाई समेत विशेष प्रशंसापत्र द्वारा सम्मानित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख रमेश कार्कीले विद्यालयको शैक्षिक गुणस्तर र प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बालबालिकाको प्रस्तुति अत्यन्तै उत्कृष्ट रहेको बताउनुभयो।
उहाँले विद्यालयको भौतिक पूर्वाधार स्तरोन्नतिका लागि बजेट विनियोजन गरिसकिएको जानकारी दिनुभयो। स्थानीय समाजसेवी, बुद्धिजीवी, शैक्षिक व्यक्तित्व, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमले बालबालिकाको सिर्जनात्मक क्षमता र सांस्कृतिक प्रतिभा प्रस्फुटन गराउन महत्त्वपूर्ण योगदान पु¥याएको विद्यालयले जनाएको छ ।


