इटहरी । भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका पीडितहरूको पुनस्र्थापना तथा राहतका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० मा ७ लाख ४८ हजार ९ सय ५१ संकलन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था, टोल विकास संस्था, क्लब तथा सामाजिक व्यक्तित्वहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो। शुक्रबार आयोजित धन्यवाद तथा पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभएको थियो।
संकलित रकम वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठको नेतृत्वमा वडालाई हस्तान्तरण गरिएको छ। उक्त रकम सोमबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था, टोल विकास संस्था, क्लब तथा सामाजिक व्यक्तित्वहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।


