इटहरी। पर्यटक आगमनको समयमा मौसम प्रतिकूल हुँदा पर्यटकीय क्षेत्रमा प्रत्यक्ष असर परेको छ । पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम पदमार्गमा आउने पर्यटक मौसम प्रतिकूल हुँदा प्रभावित बनेका छन् । 

ट्रेकिङका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने मुन्धुम पदमार्गमा यस वर्ष विदेशी पर्यटक कम आएका छन् । गत वर्ष आन्तरिक र बाह्य पर्यटक गरी ७० हजारले पदमार्गको यात्रा गरेका थिए भने यस वर्ष कम हुने आकलन गरिएको छ । यो पदमार्गमा पर्यटकले ट्याम्के डाँडाबाट हिमालयको दृश्य, मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिका बारेमा अध्ययन अवलोकन गर्छन् । रैथाने बाली, वन्यजन्तु, हरियाली, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकनका लागि मुन्धुम पदमार्ग पर्यटकको रोजाइमा पर्ने गर्दछ ।  

दसैँ बिदाको अवसरमा मुन्धुम पदमार्ग आएका पथप्रदर्शक सुदिस श्रेष्ठ भन्नुहुन्छ, पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएका अजित थापाको पनि दुःखेसो उही छ,  मुन्धुम पदमार्ग पर्यटकीय हवका रूपमा विकास गर्नुपर्ने क्षेत्र हो । पछिल्लो समय मौसमले पर्यटन क्षेत्र निकै प्रभावित बनेको छ । अनोज कार्कीको योजना पनि सिलिचुङ चुचुरोसम्मै पुग्ने थियो तर मौसम प्रतिकूलतासँगै फोनमा नेटवर्क नआउने, होटेल, खानेपानी, शौचालयलगायतको  समस्या हुँदा आफूहरू मैयुबाट नै फर्किएको गुनासो गर्नुभयो । दैनिक साढे दुई सयको हाराहारीमा आन्तरिक पर्यटक चखेवा आउने गरेको  चखेवा होटेल तथा होमस्टे व्यवसायी सङ्घको कोषाध्यक्ष नरराज काङमाङ बताउनुहुन्छ  । क्रमशः मौसम सुधार हुँदै गएकाले पर्यटक थप बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । 

चखेवामा गोठेसी होमस्टे सञ्चालन गर्दै आउनुभएका प्रकाश राईका अनुसार मौसम प्रतिकूलताका बाबजुद पदमार्गमा बाह्य पर्यटकको आगमन र आकर्षण कम देखिएको छ । मौसम सुधार हुँदैछ आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा छ । जुनसुकै मौसममा सहज पदयात्राका लागि पदमार्गको गुरुयोजना अनुसार संरचना विस्तार गर्न संरक्षक पाविहाङ राईले सरोकारवालालाई सुझाउनु भएको छ । साथै यसले दीर्घकालीन प्रभाव पार्नेसमेत उहाँले जोड दिनुभयो । यस वर्ष मौसम प्रतिकूलताका कारण पर्यापर्यटनमा प्रत्यक्ष असर परेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । खोटाङको तावा भन्ज्याङबाट सुरु हुने पदमार्ग क्रमशः भोजपुरको टक्सार एयरपोर्टसम्म पुग्दा कुल १५३ किलोमिटर हुन्छ । उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीलाई सरदर पाँचदेखि नौ दिन लाग्ने र विदेशीका लागि १० देखि २० दिनसम्म लाग्ने गर्दछ । पदमार्गमा बाह्य देश अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडालगायत क्षेत्रका पर्यटक ट्रेकिङका लागि आउने गर्छन् ।