इटहरी स् प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’को प्रचारप्रसारमा निर्माण टोली जुटेको छ। यसैक्रममा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका छन्।
चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा कलाकारद्वयले चलचित्रसँग जोडिएको विवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै दर्शकलाई चलचित्र हेरेर मात्रै प्रतिक्रिया दिन आग्रह गरे। अभिनेता जितु नेपालले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त भएपछि चलचित्रबारे उठेका कतिपय प्रश्नको जवाफ मिलिसकेको बताए। उनका अनुसार विज्ञ टोलीले चलचित्र हेरेर सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र दिएको छ। ‘सेन्सरका क्रममा विज्ञ टोलीले चलचित्रको प्रशंसा गर्दै निःसन्देह सबैले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गर्नुभएको छ,’ उनले भने, ‘भर्खरै सार्वजनिक भएको दोस्रो ट्रेलरले पनि चलचित्रको विषयवस्तुबारे धेरै कुरा स्पष्ट पारिसकेको छ।’
चलचित्रको अधिकांश छायांकन झापा र इलाममा गरिएको जानकारी दिँदै जितुले पूर्वका दर्शकबाट चलचित्रले राम्रो साथ पाउने अपेक्षा व्यक्त गरे। धार्मिक आस्थाप्रति आफूहरू संवेदनशील रहेको उल्लेख गर्दै उनले चलचित्र नहेरी विवादका आधारमा धारणा नबनाउन आग्रह गरे। ‘विवादको जुन विषय छ, पूरा चलचित्र हेरिसकेपछि दर्शकलाई पक्कै लाग्छ– यो कुनै विवादको विषय नै होइन,’ उनले भने। अभिनेता आर्यन सिग्देलले पूर्वी नेपालका दर्शकसँग आफ्नो पुरानो आत्मीय सम्बन्ध रहेको बताए। करिअरका सुरुवाती चलचित्रदेखि नै पूर्वका दर्शकले दिएको माया र साथले आफूहरूलाई स्थापित हुन सहयोग पुगेको उनको भनाइ थियो।
पछिल्लो समय फरक प्रकृतिका पात्रमा अभिनय गर्ने चाहना पूरा हुँदै गएको बताउँदै आर्यनले ‘पाँच पाण्डव’को कथा र पात्रबारे सुनेपछि नै चलचित्रमा काम गर्ने निर्णय गरेको बताए। ‘चलचित्रको आइडिया र क्यारेक्टर सुन्दै मन परेको थियो। त्यसैले म यसमा जोडिएँ,’ उनले भने। चलचित्रमा एक्सन, रोमान्स र हास्यरससहितका मनोरञ्जनात्मक पक्ष समेटिएको पनि उनले जानकारी दिए। चलचित्रको कथावस्तुलाई लिएर भइरहेको विवादबारे आर्यनले प्रदर्शनअघि नै पूर्वानुमानका आधारमा निष्कर्ष निकाल्नु उचित नहुने बताए। दर्शकले चलचित्र हेरेपछि मात्रै त्यसको विषयवस्तु र प्रस्तुतिबारे धारणा बनाउनुपर्ने उनको भनाइ थियो। विशेषगरी अभिनेत्री इभा गिरीलाई ‘द्रौपदी’का रूपमा प्रस्तुत गर्दै क्यासिनोमा नचाइएको दृश्यलाई लिएर उठेको प्रश्नबारे उनले चलचित्र वास्तविक महाभारतको कथा नभएको स्पष्ट पारे।
‘पहिलो कुरा, यो रियल महाभारतको कथा होइन, यो पाँच पाण्डवको कथा हो। त्यसैले कुनै पात्र द्रौपदीजस्तो लाग्नु स्वाभाविक हो, तर चलचित्रमा त्यस्तो छैन,’ उनले भने। निर्माण पक्षका अनुसार चलचित्रमा युधिष्ठिर पात्र आफ्ना भाइहरूको खोजीमा निस्किएको कथालाई मुख्य आधार बनाइएको छ। खोजीको यात्रामा विभिन्न पात्रलाई आफ्नै भाइ सम्झिने अवस्थामार्फत दाजुभाइबीचको सम्बन्ध र समकालीन समाजका विविध समस्यालाई कथामा समेटिएको छ। पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल झापाकी उपाध्यक्ष सुनिता तामाङले गरेकी थिइन्। कार्यक्रममा चलचित्र टोलीका सदस्य समीर नेपाल, पिज्जा घरका सञ्चालक तथा कलाकार याम खरेललगायतको उपस्थिति थियो।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी र प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ। नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा कालीरानी श्रेष्ठको लगानी छ। सुशील पौडेलले लेखन गरेको चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको छ।


